नवलपरासीकाे बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई भत्ता



नवलपरासीको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक रु २ हजारका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ ।

तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् । गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।