देउवा सभापति पदमा पाँचौ पटक चुनाव लड्दै

काठमाडौं । २०५७ साल यताको २१ वर्षको अवधीमा नेपाली कांग्रेसले ४ पटक महाधिबशेन सम्पन्न गरेको छ । यी सबै महाधिबशेनमा सभापति पदको उमेदवार बनेर नेपाली कांग्रेसको इतिहासमा नयाँ रेकर्ड कायम गरेका शेरबहादुर देउवा अब फेरी पनि सभापति पदमा चुनाव लड्ने भएका छन् । एउटै व्याक्तिले पार्टी सभापति पदमा यतिधेरै पटक चुनाव लडेको रेकर्ड नेपालमा त छैन नै विश्वमा समेत दुर्लभ छ ।

आगामी १४ औमहाधिवेशनमा देउवाको उम्मेदवारी अपेक्षित नै भए पनि उनले यसअघि मुख खोलेका थिएनन् । प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँगको आन्तरिक छलफलमा शनिबार देउवाले आफूलाई सहयोगको प्रस्ताव राखेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘१४ औं महाधिवेशनमा म आफूलाई फेरि सभापतिको उम्मेदवार बनाउँदैछु । म फेरि सभापतिमा उठ्नुपर्ने परिस्थिति बन्यो ।’
पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्र गरी १५ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने देउवाको भनाइ थियो । पार्टीको विधानले पनि दुई कार्यकाल सभापति हुन पाउने व्यवस्था गरेको देउवाले स्मरण गराएका थिए ।

‘मुलुकको संकटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा म असफल भएर बीचमै छाडेको देखिन्छ’ देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने, ‘पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्रलाई संस्थागत गरी अर्कोपटक नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हन्छ भन्ने मैले महसुस गरेँ ।’ विहीबार शुक्रबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि देउवा आन्तरिक छलफलमा जुटेका हुन् । देउवाले १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका विजयकुमार गच्छदार र सुनील थापा समूहको समस्याबारे पनि चासो राखेको विश्वकर्माले बताए । केन्द्रीय सदस्यहरुसँग देउवाले जिल्ला–जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
‘अब अधिवेशन गर्नुको विकल्प छैन । संविधानतः हामीले महाधिवेशन गर्नैपर्छ । कठिनाइका बाबजुद पनि महाधिवेशन गर्नैपर्छ, यसको तयारीमा लाग्नुहोस्,’ देउवाको भनाइ थियो ।

देउवाले अब आफू महाधिवेशनको मैदानमा उत्रिएको सन्देश दिने गरी छलफललाई अगाडि बढाएका छन् । उनले एक दिनमा दुई वटा प्रदेशमा आफू निकट नेतासँग आन्तरिक छलफलको नीति लिएका छन् । शनिबार बिहानको छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदम्बे, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङल, बाबुराम बस्नेत, सुजाता परियारलगायतका सहभागी थिए ।

उपत्यका बाहिर भएकाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, अमृत आर्याल, लक्ष्मी परियार छलफलमा सहभागी थिइनन् । उनीहरुसँगको छलफलपछि देउवाले अहिले प्रदेश २ का केन्द्रीय सदस्यसँग पनि छलफल गरिरहेका छन् । सभापतिमा आकांक्षा देखाएका उपसभापति विमलेन्द्र निधिसित पनि देउवाको छलफल भएको छ । गत वर्ष साउन २९ गते देउवा निवासमा पुगेर निधिले सभापतिमा आफ्नो दाबी रहने भन्दै सहयोग मागेका थिए । तर, देउवाले १४ औं महाधिवेशनमा एकपटक आफूलाई सहयोग गर्न भनेका थिए । त्यसयता देउवा र निधिबीच महाधिवेशनको उम्मेदवारीबारे शनिबार पहिलोपटक छलफल हुँदैछ ।

प्रदेश १ का नेताहरुले १३ औं महाधिवेशनका सघाएका निधि लगायतका नेताहरुलाई साथमै लिएर जान देउवालाई सुझाएका थिए । १३ औं महाधिवेशनको टिमबाट अर्को उम्मेदवार हुन नदिने वातावरण बनाउन उनीहरुको सुझाव थियो । त्यो सुझाव लगत्तै देउवाले निधिसँग छलफल गरेका हुन् । यसैगरी, आइतबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल देउवाको गर्ने तयारी छ । सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने कार्यक्रम रहेको देउवा सचिवालयले जानकारी दियो । आसन्न महाधिवेशनमा सभापति भएर पार्टीलाई सबैभन्दा ठूलो लोकप्रिय बनाउने देउवाले प्रदेश १ का नेताहरुलाई बताए । ‘म सभापति भएँ, संविधान कार्यान्वयन गर्ने अवसर मैले पाएँ, विगतको संसदको निर्वाचनमा भोट बढ्यो । तर, दुई पार्टी एक हुँदा त्योअनुसार सिट बढ्न सकेन,’ छलफलमा देउवाले भने, ‘अब आसन्न महाधिवेशनमा म सभापति भएर यो पार्टीलाई सबैभन्दा ठूलो, लोकप्रिय पार्टी बनाउँछु । म यस अभियानमा लाग्छु ।’

देउवाले आफूलाई अन्तिम पटकका लागि सहयोग गर्न आग्रह गरे । प्रदेश १ का नेताहरुसँग उनले भने, ‘महाधिवेशन भनेको नीति र नेतृत्वको कुरा हो । नीति बनाउँदै गरौं, नेतृत्वमा मेरो दोहोरिने विचार छ । अब अन्तिमपटक सभापतिका लागि मलाई तपाईंहरुको साथ चाहिन्छ ।’
देउवाले अगाडि थपे, ‘अब म एकचोटि मात्र सभापति बन्छु । फेरि सभापति बन्ने होइन, मेरो यो अन्तिम हो । तपाईहरुले सहयोग गर्नुस् ।’
देउवानिकट केन्द्रीय सदस्यहरुले पनि विधानले दुई कार्यकालको सुविधा दिएकाले कुनै गम्भीर प्रकृतिको अवस्था नआएसम्म सभापतिको दाबी नछोड्न सुझाएका थिए । विपक्षी खेमामा धेरै प्रतिस्पर्धी देखिनुले सभापतिमा दोहोरिने परिस्थिति सहजै बन्ने छलफलको निष्कर्ष थियो ।
विश्वकर्माले भने, ‘तपाईंजत्तिको राष्ट्रिय व्यक्ति पार्टीमा देखिएको छैन, पार्टीलाई सशक्त बनाउने र राष्ट्रिय राजनीतिलाई ठीक बाटोमा लैजाने दायित्व छ भनेर सुझाव दियौँ ।’ विश्वकर्माका अनुसार देउवाले आफ्नो उम्मेदवारीबारे कुरा राख्दा छलफलमा सहभागी सबैले सकारात्मक र स्वागत गरेका थिए । ‘छलफलमा सहभागीमध्ये कोही सभापतिको दाबेदार थिएनौं, विश्वकर्माले भने, ‘हामीले उहाँलाई सभापतिका लागि शुभकामना दियौं ।’