देउवाको पहिलो टार्गेट मोरङ

Photo: THT


काठमाडौं । फेरी सभापति पदमा चुनाव लड्ने घोषणा गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवारको किल्ला मानिने मोरङ जिल्लालाई पहिलो ‘टार्गेट’ बनाएका छन् । क्रियाशील सदस्यता बिवाद उत्पन्न गराई मोरङमै इतर पक्षलाई साइजमा ल्याउने रणनीति देउवाको छ । देउवा समर्थकहरुले मोरङको पार्टी कार्यालयमा ताला लगाएर त्यो अभियान सुरु गरिसकेका छन् ।
मनपरी ढंगले क्रियाशील सदस्या वितरण गरेको भन्दै केही युवाले नेपाली कांग्रेसको मोरङ ४ नम्बर क्षेत्रीय समितिको कार्यालयमा तालाबन्दी गरिदिए । पार्टीको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ व्यवस्थापन कलेज विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाइका विद्यार्थीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् । यो पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्याको संसदीय निर्वाचन क्षेत्र पनि हो । ‘बुथबाट सिफारिस भई गएका नामावाली पाखा लगाई मनोमानी ढंगले क्रियाशील सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं’ भन्ने व्यहोरोको विज्ञप्ति प्रकाशित गरी नेपाल विद्यार्थी संघ व्यवस्थापन क्याम्पसका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङका सभापति मिलन श्रेष्ठले विरोध जनाए ।

कांग्रेस क्षेत्रीय कार्यालयले ‘तानाशाही ढंगले क्रियाशील सदस्यता विरतण गरेको र आफ्ना नजिकका व्यक्तिहरुलाई मात्र वितरण गरेकोले विरोध गर्नुपरेको’ विद्यार्थी योगराज दाहालले बताए । कोरोना महामारीबीच नै युवाको टोली विराटनगर महानगरपालिका–४ स्थित कांग्रेस कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । उनीहरुले यस विषयमा छानबिन गर्न आफ्ना माग कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति, कांग्रेसको केन्द्रीय कार्यसमिति र कांग्रेसको मोरङ जिल्लासमक्ष पनि राखेका छन् ।

महाधिवेशनको मितिसमेत तोकिएको र यसको विधिको विषयमा छलफल भइरहेको बेला कांग्रेसको तल्लो तहसम्म क्रियाशील सदस्यता वितरणको विषयमा असन्तुष्टि आगोजस्तै सल्किएको छ । ‘आफन्त, आसेपासे र गुटभित्रकालाई मात्र सदस्यता दिइएको’ भन्ने असन्तुष्टि सतहमै मुखरित हुन थालेको छ । प्रदेश नम्बर–१ को राजधानी अवस्थित मोरङ जिल्लासहित धेरै ठाउँमा कार्यकर्ताको यही असन्तुष्टि देखिएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सचिव प्रकाश दाहाल भन्छन्, ‘नेतैच्छिेका स्वार्थका कारण सच्चा रुपमा पार्टीमा खटिएका र पाउनुपर्ने कार्यकर्ताले पनि क्रियाशील नपाएको विषयले ठूलो असन्तुष्टि सिर्जना भएको छ ।’ उनले यस्तो परिस्थितिले पार्टीभित्रको मात्र नभएर स्थानीय, प्रदेश र संघीय आम निर्वाचनमा समेत घात–अन्तरघातको अवस्था आउने खतरा रहेको बताए ।

मोरङ कांग्रेसका अगुवा इन्द्रमणि थापाले अहिले क्रियाशील सदस्यताको विषयले कांग्रेसको राजनीति नै गिजोलिएको अवस्थामा पुगेको बताए । ‘पहिले चुनावमा अन्तरघात गर्नेहरुको नाम पराजितहरुले पार्टी संगठनमार्फत सिफारिस गरे । कतिलाई कारबाही भयो, कतिलाई भएन । तर, पहिलेका असन्तुष्टि अनि सम्बन्ध सुधार भएको छैन,’ उनले भने, ‘अहिले फेरि क्रियाशीलको विवाद उठेको छ । यसले पार्टीको आन्तरिक जीवनमा मात्र नभएर आउने चुनावमा समेत असर गर्ला कि भन्ने पिर थपिएको छ ।’ जहाँ शक्ति पुग्छ, त्यहाँ आफ्ना खाले मानिसलाई क्रियाशील सदस्य दिने तर समूहबाहेककालाई नदिने काम भएकोले पनि यसले कांग्रेसको चुनावी महाधिवेशनलाई असर गर्ने उनले बताए ।

यो भासबाट पार्टीलाई बाहिर निकाल्नुपर्छ भन्दै कार्यकर्ता तहबाट क्रियाशील सदस्यता वितरणको विषयमा उचित छानबिन हुनुपर्ने मागसमेत बढेको छ । महाधिवेशनमा जेनतेन कुनै पदमा विजयी भएर पुगे पनि आउने चुनावहरुमा भने यसले क्षति पुग्न सक्ने धेरै कार्यकर्ताको अड्कल छ । ‘विभेदरहित ढंगले क्रियाशीलको समस्या निरुपण गरिनुपर्छ,’ नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्ष रामचन्द्र गौतम भन्छन्, ‘पार्टीमा आफ्ना कुरा राख्न पाइँदैन भने लोकतान्त्रिक पार्टी र कम्युनिस्टमा के फरक भयो र ? क्रियाशील सदस्यहरुको सन्दर्भमा क्षेत्र नम्बर–४ मा फाराम भर्नेलाई नदिएको, ताल्चा लगाउनेसम्मको काम भएको भएको छ ।’

कांग्रेका पुराना कार्यकर्ता भूपेन्द्रप्रसाद चौधरी नेपाली कांग्रेसले अहिलेसम्म देशको राजकाज चलाएको अवधि गणना गर्दा ७० प्रतिशत नेतृत्व लिएको बताए । राज्यको नेतृत्वदायी भूमिका निर्वाह गरेको तर कांग्रेसले यो अवधिमा के गर्यो भनेर आम रुपमा प्रश्न उठ्ने गरेको उनले सुनाए । उनले भने, ‘कांग्रेसले गरेका गल्तीका परिदृश्य अहिले देखिन थालेको हो । कांग्रेसले सुरु गरेका गल्ती–कमजोरीका कारण अहिले देश खराब अवस्थामा पुगेको छ । गल्ती गरेको कुरालाई स्वीकार गर्नुपर्छ । पार्टीमा नेतृत्वदायी भूमिका कमजोर बन्दै गएको छ । यसलाई सुधार गरेर लैजानुपर्छ । सधैँभरि व्यक्ति, विशेष र चरित्र नेतृत्वमा रहने होइन । म मात्र र सर्वोपरि मै हुँ भन्ने घमन्ड त्याग्नुपर्ने बेला भएको छ ।’

उनले क्रियाशील सदस्यताको वितरणमा देखिएको समस्याले कांग्रेसलाई झन् कमजोर बनाउन सक्ने भएकोले यसबारे पार्टी नेतृत्वले विशेष ध्यान दिन जरुरी रहेको बताए । अन्तरघातको विजारोपण क्रियाशील वितरणमै देखिएको भन्दै महिला नेत्री विजेता अधिकारी ‘यसको निचोड के हो त ?’ भन्दै प्रश्न गर्छिन् । कार्यकर्ताको मनोभावको कदर हुनुपर्ने र सानो क्षेत्रबाट नेताहरु बाहिर निस्कनुपर्ने उनको सुझाव छ ।

‘नेताले सानो समूहलाई लिएर हिँड्ने गर्नाले पार्टीको लागि काम गर्नेहरु कता जान्छन् कता । नेता सबैको मियो हुनुपर्छ, सबैलाई समेटेर, लिएर अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘क्रियाशीललाई राम्रो छानबिन गरेर कसले काम गरेको हो, त्यसले प्राप्त गरोस् । भोटको लागि मात्र दिने नगरियोस् । व्यक्तिगत लालसाका कारण पार्टी छिन्नभिन्नको अवस्थामा पुगेको हो ।’

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशन कोरोना महामारीको जोखिमको अवस्थामा पनि हुनैपर्ने भएकोले अहिले यसको तयारी थालिएको बताए । महाधिवेशन नगरी अब भाग्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘कांग्रेसले सबैको सल्लाह र मान्य निर्णयहरु गरिरहेको छ । कांग्रेसले नै संविधानको रक्षा गर्न सक्छ । यो महाधिवेशन उपलब्धिपूर्ण तरिकाले सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन । केन्द्रीय नेताहरुले समेत छलफल गरिरहनुभएको छ र विधिको विषयमा छलफल भइरहको छ । वौधानिकता जोगाउनको लागि पनि कांग्रेस चुनाव हुनैपर्छ ।’
अर्यालले कम्युनिस्टको तानाशाहीपूर्ण शासन प्रणालीका कारण जनतासमेत दिक्क भएको जिकिर गरे । क्रियाशील सदस्यता वितरणको प्रक्रिया र विवादको विषय केन्द्रीय समितिको बैठकमा गम्भीर रुपमा उठाउने उनले बताए ।