टोखा नगरपालिकाले रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट नगरसभामा पेश गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले आज आर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उक्त वजेट पेश गर्नुभएको हो । दोस्रो चरणको कोरोना सङ्क्रमण बढीरहेको बेलामा टोखाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरसभामा आव २०७८÷०७९ को बजेट पेश गरेको हो । टोखाले केन्द्र सरकारबाट प्रदान गर्ने निःशुल्क औषधिको अलावा नगरपालिकाबाट समेत औषधिहरु निःशुल्क उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रुपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिन नगरवासीलाई उत्प्रेरित गर्ने भएको छ । यस्तै, टोखाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ र ‘महिला सँग उपमेयर’ स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाउने भएको छ । एक वडा एक योग ध्यान केन्द्र कार्यक्रमलाई समेत टोखाले अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यबाहेक वजेटले शिक्षा, उद्योग र पूर्वाधारलाई समेत जोड दिएको छ ।
टोखाले वडागत रुपमा रु दुई करोड ५० लाखको वजेट सिलिङ प्रस्ताव गरेको छ । काठमाडौँ उत्तरी क्षेत्रमा रहेको टोखामा हाल ११ वडा रहेका छन् । नगरसभामा नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाले अहोरात्र खटेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले समृद्ध टोखा नगरपालिका निर्माणका लागि आगामी नीति तथा कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको न्यायीक समितिमा चालू आर्थिक वर्षमा ३४ उजुरी दर्ता भएका छन् । दर्ता भएका ३४ उजुरीमध्ये २१ उजुरीको फैसला भएको न्यायीक समितिका सदस्य गोपीकृष्ण पाठकले जानकारी दिनुभयो ।