कोरोना कहरः लागु औषध कारोवारीलाई अबशर

धनगढी । कोरोना कहर लागु औषध कारोवारीका लागि ठूलो अवशर सावित भएको छ । कञ्चनपुरमा पछिल्लो समय लागूऔषधको कारोबार डरलाग्दो रुपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रहरीमा लागूऔषधका १२ मुद्दा मात्रै दर्ता थिए । त्यसको ठीक छ वर्षपछि चालु आवको हालसम्म १२३ लागूऔषधका मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लकडाउन अवधिमा खुल्ला सिमानाका भएको कञ्चनपुरमा खैरो हिरोइनलगायत लागूऔषधको तस्करी जारी रहेको बताए । बितेका केही महिनामा २०१ लागुऔषध कारोबारी पक्राउ गरेको प्रहरीले यहाँ हरेक दिनजसो खैरो हिरोइनसहित लागुऔषधको लतमा लागेका पक्राउ पर्न थालेका छन् ।

‘लकडाउनमा सीमा नाकामा आर्थिक प्रलोभनले पनि लागूऔषधको कारोबारमा संलग्न रहेको पाइयो’, प्रवक्ता थापाले भने,’यो बीचमा दश भारतीय र चार महिलासमेत कानूनको दायरामा आएका छन् ।’

प्रहरीका अनुसार यहाँको कारागारमा समेत ५० प्रतिशतभन्दा बढी लागूऔषध मुद्दाका अभियुक्त रहेका छन् । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले सम्हालेयता लागूऔषध नियन्त्रणका लागि उनले अभियान नै सञ्चालन गरे । ‘कारबाही र सचेतना’को नीतिसहित जिल्लाभर लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले लागूऔषधको कारोबार गर्ने धमाधम पक्राउ पर्न थालेपछि जघन्य लगायतका अपराधमा पनि समाजमा कमी आएको प्रहरीको दाबी छ ।

‘अपराधको जननी जस्तै यहाँ लागुऔषध रहेछ’, थापाले भने,’लागूऔषध सेवनकर्ताबाटै यहाँ बढी घटा घटेको तथ्याङ्क छ ।’

प्रहरीको तथ्याङ्कअनुसार कञ्चनपुरमा आर्थिक वर्ष २०७३/७४ मा २२ मुद्दा, २०७४/७५ मा ५०, २०७५/७६ मा ४६ र २०७६/७७ मा ५५ मुद्दा दर्ता भएको देखिन्छ ।लागुऔषध नियन्त्रणका क्रममा प्रहरीसितको दोहोरो झडपमा यहाँ केही महिनाअघि एक भारतीय तस्करले ज्यानसमेत गुमाएको थियो । यहाँ प्रहरीको लागुऔषध अनुसन्धान ब्यूरो, सादा पोशाकमा प्रहरी परिचालन हुनाका साथै जिल्लाका अन्य प्रहरी युनिटसमेत परिचालित छन् । जिल्लामा लागुऔषधको बढी कारोबार हुने क्षेत्रमा बेलौरी, पुनर्वास, बेल्डाडी र दोधारा चादँनी रहेका छन् ।