एमालेका चार भाईको फरकमतः विचारले नेतृत्व जन्माउने पूर्व कसरत




खड्गमान नेपाली ।

एक युगमा एक दिन आउँछ भने जस्तै एक विशेष परिस्थितिले नै नेता र नेतृत्व जन्माउछ भन्ने पछिल्लो उदाहरण नेकपा एमालेका चार नेता उदाहरण भएका छन । नयाँ राजनीतक बाटो तय गर्ने हम्मित देखाउन उनीहरुले सबै पार्टी नेता र देशभक्त वामपन्थीहरुलाई पनि अपिल गरेका छन । एमाले पोलिटब्यूरो सदस्यहरू जगन्नाथ खतिवडा, डा. विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईले वरिष्ठ नेताहरुसहित नेताहरुलाई पत्र पठाएर अब नयाँ राजनीतिक यात्राका लागि ढिलो गर्न नहुने स्पष्ट पारेका छन् । खास परिस्थितिमा नेता र नेतृत्वको जन्म हुने हुदा अहिलेको प्रतिगमनकारी एमालेको पुर्नगठनमा मात्र होईन, समग्र नेकपाको पुर्नजीवनका लागि चार नेताको अपिल र अभ्यास नयाँ संभावनाको झिल्को वा सानो दियोको रुपमा देखा परेकोे छ ।
पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित स्थायी समिति सदस्यहरूलाई १० बुँदे सुझाव पठाएका छन् । उनीहरुले पत्रमा भनेका छन्, “वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं । नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौँ र देशलाई प्रतिगमन, राष्ट्रघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ !” उनीहरूले कम्युनिष्ट आन्दोलनमा विसर्जनवाद र दक्षिणपन्थ हाबी भएको निष्कर्ष निकालेका छन्। संघीयता र लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती आएको बताएका छन् । “पार्टी एकताको लागि अधिकतम लचकता प्रदर्शन गर्न थप नेताहरूलाई कारबाही नगर्ने भनी गरिएको प्रचार हामीबीच फुट ल्याउने चालबाजी हो भन्ने प्रष्ट नै छ”, चार नेताले स्पष्ट पारेका छन् । उनीहरूले ओलीले वार्ताको नाटक गरिरहेको बताउँदै भनेका छन्, “आज रचना गरिएको वार्ताको नाटकले हामीबीचको एकतालाई छिन्न भिन्न गर्ने, राजनीतिक दलहरूसँगको हाम्रो सहकार्य भंग गर्ने र सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको बहसलाई कमजोर पार्ने उद्देश्य बोकेको छ भन्ने प्रष्टसँग देख्न सकिन्छ ।”
कथित पार्टी एकता जोगाउने नाममा केपी ओलीसंगै टासिएर बस्न लालायित एमालेकै योगेश भटटराई, गोकर्ण विष्टहरुले अंगिकार गरेको सम्झौतापरस्त र ढुलमुले अवसरवादलाई चिर्न एमालेका चार नेता राई, पौडेल, ज्वाला र खतिवडाले प्रष्ट रोडम्याप दिएका छन । यो उनीहरुको नयाँ परिवशेमा नयाँ वाम एकता र ध्रुवीकरणका लागि भावी नेता बन्ने पूर्वसंकेत मात्र होईन,नेपाली वामपन्थीलाई डाउनसाईज गर्ने देशी विदेशी दृश्य अदृश्य शक्तिकेन्द्र र प्रवृत्तिहरुलाई शसक्त प्रतिवाद र चुनौति पनि हो ।
छदाँखादाँको मन्त्री पद त्यागेर प्रकाश ज्वाला कर्णालीबाट परिवर्तन र निर्माणको अठोट लिएर नयाँ निर्माणको पक्षमा उभिएका छन । आफ्नो अर्थशास्त्रीय विज्ञता र राजनीतिक चेतनाको आलोकमा डा. विजय पौडेलले नयाँ पार्टी निर्माणको उदघोष गरेका छन । आफ्नो जुझारु विद्यार्थीकालिन चेत र अहिलेको परिवेशलाई सही र बस्तुनिष्ठ मूल्याँकन गरेर अनेरास्ववियूका दुई पूर्व अध्यक्षहरु राजेन्द्र राई र जगन्नाथ खतिवडा मैदानमा नयाँ युगको नयाँ नेतृत्व जन्माउने प्रसव वेदना स्वीकार गर्न मञ्जुर भएका छन । बस, भएको पद, प्रतिष्ठा, अवसरको बेवास्ता गरेर देश, जनता र वाम आन्दोलनको क्रान्तिकारी बिरासतको रक्षा र समयानुकुल विकास र परिमार्जनका लागि यसरी आशालाग्दा युवाहरु अघि बढनुले पुनः विशाल र एकीकृत नेकपाकै पुर्नगठन हुन सक्ने संभावना बढाएको छ । सलाम भन्नैपर्छ यी चार भाईको अदम्य, शाहस र प्रयाशलाई ।
निश्चय नै केपी ओली एमाले र सत्ताको कारण सुन्निएका छन । तर एमालेको झण्डामा एकलौटी तानाशाही लादीरहेका ओलीका विरुद्ध, उनको प्रतिगामी कदमको विरुद्ध, उनको नयाँ तानाशाही हर्कत विरुद्ध सचेत क्रान्तिकारीको विद्रोह अपेक्षित नै थियो । त्यो अपेक्षा र रिक्तता चार थान युवा एमाले नेताहरुले पुरा गरेर आशाको दियो जगाएका छन । यो उनीहरुबाट बृहत वाम एकताका पक्षपाती सबैले मनन गरेर लागु गर्नुपर्ने एक नजिर नै हो ।
एमालेमा सैद्धान्तिक नेता ठानिएका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेहरुले अब यता न उताको भएर बस्ने बेला छैन । एमालेको एकता जोगाउने नाममा अब पनि नयाँ क्रान्तिकारी हस्तक्षेप र बिद्रोहका लागि भुसाल, पाण्डे, विष्ट वा भट्टराईहरु तयार नहुने हो भने उनीहरुले हेर्दाहेर्दै सात गाउँ माझी बस्ती बाढीले बगाएको दन्त्यकथाका पात्रमा सीमित हुनुपर्ने निश्चित छ । किन भने ओली प्रवृत्ति अब पंचायतकालिन डा. केशरजंग रायमाझीपथ भन्दा पनि ज्यादा प्रतिगामी र प्रतिक्रान्तिकारी कित्तमा गैसकेको सत्य दिनको घाम जत्तिकै छर्लंग छ । अब पनि ओली सच्चिन्छन भन्ने भ्रममा कोही एमाले नेता, कार्यकत्र्ताहरु रहन्छन भने त्यो आकाशको फल आखाँ तरी मर भन्ने भनाई शिवाय केही नहुने स्पष्ट नै छ ।
त्यसैले प्रकाशज्वाला, विजय पौडेल, राजेन्द्र राई र जग्गनाथ खतिवडाको मार्गचित्रमा नै सच्चा एमालेहरु अघि बढ्न एम निमेष पनि ढिला नगरी तम्तयार हुन सक्नुपर्छ । घनश्यामहरुको आर्दश वा सुरेन्द्र पाण्डेहरुको अन्तिम कोशिस अब फगत समयको बर्बादी शिवाय केही नहुने पक्का छ । सत्ताको चास्नी मुखमा मिठ्याउदै ओलीसंग कोठे, चोठे, रेष्टुँरे स्तरमा बार्ताका नाममा सत्ताको घाँस खाने लोभीपापी प्रवृत्तिबाट योगेश र गोकर्णहरु मुक्त हुन ढिला गरे उनीहरु पनि ओलीको अन्तिम तहका मलामीमा सीमित हुनुपर्ने निश्चित नै छ ।
आजको आवश्यक्ता देशको राष्ट्रियताको रक्षा हो । नेपाललाई फिजीकरण गर्ने ओली प्रवृत्तिको विरुद्ध जेहादी छेडने संघर्षको हो । आजको आवश्यक्ता अदालतले प्राविधिक रुपमा भत्काएको नेकपाको पुर्नजन्न्मको हो । आजको आवश्यक्ता फेरि सगरमाथाको देशमा वाम सरकारको पुर्नस्थापनाको हो । संविधान, व्यवस्थाको रक्षा, शासनप्रणलीको जनमुखीकरण र जनताको जीवनको रक्षा र बचाउ नै हो । यसका लागि अब कुनै पनि एमालेले कथित एकताको एकतारे बजाएर समय बर्बाद गर्नु हुदैन चार भाईले देखाएको बाटो निशर्त अनुशरण गर्नु पर्छ ।