उपत्यकाको निषेधाज्ञा खुकुलो : निजी सवारीमा जोर बिजोर , बारअनुसार पसल खुल्ने



काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ । असार ७ गतेदेखि थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन हुनेछन् ।


काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछन् तर अरु सार्वजनिक सवारी साधन भने अझै चलाउन पाइने छैन ।

खुकुलो भएको लकडाउनमा आइतवार, मंगवार र विहीवार सुन, भाँडाकुडा, विद्युतिय सामाग्री, अटो मोबाइल सम्बन्धित पसलहरु खुल्न पाउने छन्। त्यस्तै सोमवार, बुधवार र शुक्रवार भने खेलकुद, लत्ताकपडा, जुत्ता चपल, कस्मेटिकका पसल खोल्न दिने निर्णय भएको छ। यसरी खोल्ने पसलहरूमा समय भने निर्धारण गरिएको छ। बिहान ११ बजेदेखि ४ बजेसम्म यस्ता पसल खुल्ने छ।

त्यस्तै खाद्यान्न, किराना पसल, माछामासु, दहीदुध, तरकारीका पसलहरू भने दैनिक बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन्। हार्यवेयर पसल, पस्तुक पसलहरू समेत खुल्नेछन्।

काठमाडौं उपत्यकाका ३ वटा जिल्ला प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको छ।