Category: हेडलाईन

  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    झापा । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन  बङ्गलादेश निर्यात भएका छन् ।

    काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ ।

    यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।

    काँकडभिट्टाबाट रु ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।

    प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

    राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

  • रोयल च्यालेन्जर्स बैंगलुरुले जित्यो आइपिएलको उपाधि

    रोयल च्यालेन्जर्स बैंगलुरुले जित्यो आइपिएलको उपाधि

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मंगलबार भएको खेलमा पंजाब किंग्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले पहिलो पटक आईपीएलको उपाधि जितेको हो।

    फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले जितका लागि दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको पंजाबले २० ओभरमा ७ विकेट गुमाएर एक सय ८४ रन बनायो।

    पंजाबका शशांक सिंह अर्धसतकीय पारी खेलेपनि टोलीलाई उपाधि दिलाउन सकेनन्। उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६१ रन बनाए भने जोश इंग्लिसले ३९ रन बनाए। २३ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। यस्तै प्रभसिमरन सिंहले २६ तथा प्रियांश आर्याले २४ रन बनाए। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान दुई/दुई विकेट लिए।

    टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो।

    बेंगलुरुका लागि विराट कोहलीले ३५ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ३ चौका प्रहार गरे। कप्तान रजत पाटिदारले १६ बलमा २६ रन बनाए। मयंक अग्रवालले १८ बलमा २४ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे। लियाम लिभिङ स्टोनले १५ बलमा २५ रन जोडेर पभेलियन फर्किए। उनले २ छक्का प्रहार गरे।

    यस्तै विकेट जितेश शर्माले १० बलमा २४ रन बनाउँदा रोमारियो शेफर्डले ९ बलमा १७ रन बनाए। पञ्जाबका लागि कायल जेमिसन र अर्शदीप सिंहले समान ३/३ विकेट लिए।

  • यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता

    यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता

    काठमाडौँ । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो। 

    गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए । 

    बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

    उनले निर्णयसँगै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्ने बताए ।

  • राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय

    राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय

    पोखरा। गण्डकी प्रदेश सरकारले हालै लागू गरेको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन प्रक्रिया अस्थायी रूपमा एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। संघीय सरकारको आग्रह र सार्वजनिक यातायात बन्दका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै प्रदेश सरकारले सरोकारवाला पक्षहरूसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

    यो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गण्डकी प्रदेश सरकारलाई पठाइएको औपचारिक पत्रका आधारमा गरिएको हो। पत्रमा जनजीवनलाई सहज बनाउने उद्देश्यले नियमावली अन्तर्गतको कार्यान्वयन तत्काल रोक्न आग्रह गरिएको थियो।

  • बुधबारदेखि आन्दोलन थप चर्काउने यातायात व्यवसायीको चेतावनी

    बुधबारदेखि आन्दोलन थप चर्काउने यातायात व्यवसायीको चेतावनी

    काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलन सशक्त रुपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका छन् ।

    उनले संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नभए भोलि देखि आन्दोलन अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् ।

  • गण्डकी प्रदेश सरकारलाई संघीय सरकारले पठायो पत्र, ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न आग्रह

    गण्डकी प्रदेश सरकारलाई संघीय सरकारले पठायो पत्र, ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न आग्रह

    पोखरा । राइड सेयरिङ नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई मंगलबार पत्र पठाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई पत्र पठाएको हो । सोमबार राति सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार संघीय सरकारले प्रदेश सरकारलाई पत्र पठाएको हो ।

    पत्रमा भनिएको छ, ‘यातायातसम्बन्धी महासंघ र संघसंगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रमले जनजीवन असहज भइरहेको सन्दर्भमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि गण्डकी प्रदेश सरकारलगायत प्रदेश सरकारहरुलाई नियमावलीमा उल्लेखित राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध भइ आएकोले उक्त निर्णय कार्यान्वयनको लागि पठाइएको छ ।’

    पत्र प्राप्त भएपछि धारणा बनाउन प्रदेश सरकार छलफलमा जुटेको छ । प्रदेश सरकारको बैठकपश्चात् धारणा सार्वजनिक गर्ने तयारी छ । यातायात व्यवसायी नियमावली खारेज नहुँदासम्म हडताल कायम राख्ने अडानमा छन् ।

  • सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

    सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

    काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मङ्गलबार अधिवक्ता विवेक पोखरेलले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । 

    रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ । 

    जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख गरिएको छ । 

    संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावत, पेसा र रोजगारमा बाधा पुगेको उल्लेख गर्दै यातायातमा भएको हडतालले आम जनताको मौलिक हकमै हस्तक्षेप भएको रिट निवेदनमा भनिएको छ । 

    नेपाल सरकारद्वारा २०८० मंसिर २८ गते प्रकाशित नेपाल राजपत्रले सार्वजनिक यातायात सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ । भोलिका दिनमा यातायातसहित अत्यावश्यक २५ वटै क्षेत्रमा हड्ताल गर्न नपाइने गरी परमादेश जारी गर्न पनि माग रिटमा गरिएको छ।

  • जनताले ‘माओवादी नै सही रहेछ, हामीले चिन्न ढिला गरेछौं’ भन्न थालिसकेः प्रचण्ड

    जनताले ‘माओवादी नै सही रहेछ, हामीले चिन्न ढिला गरेछौं’ भन्न थालिसकेः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पार्टीमा निकै ठूलो उभार आएको बताएका छन् ।

    आज (मंगलबार) माओवादी केन्द्रले आजदेखि सुरू गरेको काठमाडौं उपत्यका केन्द्रीत नेवा र तामसालिङ जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गल्तीबाट सिक्दै अगाडि बढ्ने प्रयास गरिरहेको बताए । अहिले जनताले माओवादीलाई एक पटक क्षमा दिएको बताए । माओवादीमा अहिले आइरहेको उभार कायमै राख्न सकिए आगामी २०८४ को निर्वाचनमा ०६४ भन्दा माथि जाने अवस्था आउने बताए ।

    ‘हामी माओवादी भन्दा ठाउँ–ठाउँमा डराउने’ अवस्था भइसकेको परिस्थितिमा माओवादीले १८ महिना सरकारको नेतृत्व गर्दा अहिले गर्वका साथ माओवादी हौं भन्ने ठाउँमा आइपुगेको उनले बताए । ‘प्रतिक्रियवादी, यथास्थितिवादी आक्रमकजस्तो, हाम्रा साथीहरु रक्षात्मक हुने स्थिति थियो । तर, अहिले के भयो– हाम्रा साथीहरु छाती फुलाएर हामी माओवादी, हामीले ल्याएको यो परिवर्तन भन्न सक्ने ठाउँमा आउँदैछौं,’– उनले भने ।

    माओवादीले अभियान लिएर गएको ठाउँहरुका जनताले ‘माओवादी नै सही हो, हामीले चिन्न ढिला गरेछौं’ भनेको पनि प्रचण्डले सुनाए । उनले जनताले ‘माओवादीलाई नै सहयोग गर्छौं’ भनेको पनि बताए । माओवादीले उत्पीडित वर्ग, क्षेत्र, समुदायसँग सम्बन्धलाई रिन्यू गर्न जरुरी रहेको प्रचण्डले बताए ।

  • रवि लामिछाने डिल्लीबजार कारागारमा स्थानान्तरण हुँदै

    रवि लामिछाने डिल्लीबजार कारागारमा स्थानान्तरण हुँदै

    बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले कारागार स्थानान्तरणका लागि आग्रह गरेका छन् ।

    उनको आग्रहपछि कारागार प्रशासन र अदालतले प्रक्रिया अघि बढाएको छ । सरुवाका लागि लामिछानेले जिल्ला अदालत, रुपन्देहीबाट अनुमति लिएपछि कारागार प्रशासनले जिल्ला प्रशासनको स्वीकृति पनि लिइसकेका छन् । कारागार प्रशासनले सबै प्रक्रिया पूरा गरेर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाएको छ ।

    विभागको निर्णयपछि मात्र उनको सरुवा हुनेछ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनी भैरहवा कारागारमा छन् ।