काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदानलाई शान्तिपूर्वक सम्पन्न गर्न अन्य दलका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । धकेलाधकेल भएर चितवन–२ को नयाँ किरण माविको मतदान स्थगित भएपछि फेसबुक लाइभमा आएका लामिछानेले यस्तो बताएका हुन् ।
फेसबुक लाइभमा लामिछानेले भने, ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं । म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन ।’
चितवन–२ का उम्मेदवार समेत रहेका लामिछाने भरतपुर–११ को नयाँ किरण माविमा मतदान केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए । ‘विभिन्न मतदान केन्द्रमा गएर मतदाता भेट्ने र मतदान अधिकृतसँग जानकारी लिने, मतदातासँग कुराकानी गर्ने कोशिसमा थिएँ,’ उनले भने, ‘तर, स्थिति त्यति सहज नभएपछि म अहिले घर फर्किएको छु ।’ उनले लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज गरे इतिहासले मूल्यांकन गर्ने समेत स्मरण गराएका छन् ।