माताप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो आमाको मुख हेर्ने पर्व



काठमाडाैं । नौ महिनासम्म कोखमा राखेर जन्म दिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको हो । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाइदिने र मीठा–मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन् । जन्मदाता, कर्मदाता, शिक्षादातालगायत विभिन्न रूपका आमाप्रति श्रद्धा भक्तिसाथ यो पर्व मनाइएको छ । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।


वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए । वैदिक ग्रन्थमा ‘परदारेषु मातृवत्’ अर्थात् अरुकी श्रीमतीलाई पनि आमाकै रूपमा सम्मान गर्नुपर्छ भनी उल्लेख गरिएको छ । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले जन्मदाता आमाको महत्त्व अरुभन्दा बढी छ ।

बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाको सम्झनामा गरियो तर्पण, पिण्डदान र सिदादान दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष कोरोना कम भएकाले मातातीर्थमा भव्य मेला लागेको छ । मेला भर्न बुधबार बेलुकीदेखि नै भक्तजन मातातीर्थ आएका थिए ।