विराटनगर । विराटनगर महानगरले खुल्ला रूपमा माछा–मासु बिक्री वितरणमा रोक लगाउने भएको छ । महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत माछा–मासु बिक्री वितरणमा नियमन गरिन लागेकाे हाे ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खुल्ला रूपमा माछामासु बिक्री हुँदा बजारको सौन्दर्यकरणमा ह्रास आएको ठहर गर्दै साे नियम लगाउन लागेका हुन् ।
पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रूपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । महानगरले सार्वजनिक रूपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरेको छ ।
महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरी खुल्ला ठाउँमा माछामासु बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गरिने पशुपक्षी शाखाका प्रमुख शुभ नारायण यादवले बताए ।