भक्तपुर । भक्तपुरको दधिकोट र सिरुटारको संगमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे सबै रोग निको भई गरेका काम सफल हुने विश्वास रहेको छ ।
किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको थियो । यहाँको कुण्डमा नुहाए छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने विश्वास छ । यही विश्वासले आज बिहानैदेखि कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मेलामा मन्दिर परिसरमा युवा शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा धर्म प्राप्ति हुने एवं पुण्य प्राप्त हुने जनविश्वास छ ।
मन्दिरमा बिहानैदेखि तीन खटसहितको खटजात्रासमेत गरिएको छ । दधिकोटका विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।
त्यसैगरी दधिकोटको चित्रपुरस्थित पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ । यहाँ गणेशको खटजात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । बालकुमारी देवी विराजमान गराएको खटलाई स्थानीयले पूजा सम्पन्न गरेपछि बोकेर टोलटोलमा पुर्याउने परम्परा रहेको स्थानीय प्रकाश श्रेष्ठ बताउँछन् ।
यस्तै चैत मसान्तमा साँझदेखि सुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा बिहीबार साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलमास्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइन्छ ।