पहिचान माग्नु नैसर्गिक अधिकार हो, आन्दोलनमा जनता मारिने स्थितिको अन्त्य हुनुपर्छ : सांसद राई



काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए ।


उनले भने, ‘यस्ता दुखद घटनाको शृङ्खला अझै अन्त्य कहीँ पनि भएको छैन। संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन पनि भनिन्छ । त्यसमा ५९ जना सहिद भएका थिए। त्यो शृङ्खला रोकियोस् भन्ने चाहना हो। जनताले आफ्नो पहिचान माग्नु नैसर्गिक अधिकार हो। हामीले सङ्घीयता स्थापित गरेका छौँ । तर, यही लोकतन्त्र र गणतन्त्रभित्र पहिचान माग्ने आन्दोलनकारीहरूको ज्यान लिने शृङ्खलाको कडी थपिन गएको छ । यो निन्दनीय छ ।’

आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे ।