२ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ ।
त्यस्तै दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । एफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई विभिन्न ११ समूहमा विभाजन गरेको छ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् भने दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।
प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुने तालिका छ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीकोे घोषणा गरेका थिए ।
टोलीमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल र अनिल महर्जन छन् । त्यसैगरी अविशेक लिम्बू, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिव लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ र एरिक विष्ट टोलीमा छन् ।