काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाएका छन् ।
आज (शुक्रबार) विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए । उनले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, ‘सडक आफैँमा सबैभन्दा ठुलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रूपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठुलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । सङ्घर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरू एक ठाउँमा आएर कुनै क्रान्तिको बीजारोपण गर्न सक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको विरुद्धमा नै होस् । रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्ने कुरालाई आधार मानेर अघि बढे मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’