दाइजोसम्बन्धी कसुरमा पंकज चौधरीलाई थुनामा पठाउने अदालतको आदेश



जनकपुरधाम । दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीले थुनामा पठाउन आदेश दिएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का डा. चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । चौधरीकी श्रमती नेहाद्वारा दायर गरिएको दाइजोसम्बन्धी कसुर मुद्दाको थुनछेक बहसपछि न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले थुनामा पठाउन आदेश दिएको हो ।


गतवर्ष मात्रै विवाह भएको केही महिनापछि नेहाले श्रीमान पंकजले दाइजोका लागि प्रताडित गर्दै आइरहेको आरोप लगाएकी थिइन्। दाइजोको नाममा आफूमाथि हिंसा भइरहेको भन्दै नेहाले अदालत गुहारेकी थिइन् ।

नेहाले पंकजविरुद्ध घरेलु हिंसा, अंश मुद्दा, जालसाजी लगायतका मुद्दा दर्ता गराएकी हुन् । पंकजलेसमेत सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइसकेका छन्।