ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् ।
ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेकी मन्त्री भुसालले शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् ।
अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले कारण आफूले अर्को निर्वाचन नलड्ने उनले स्पष्ट पारिन् ।
उनले भनिन्, ‘म ६० वर्ष पुगे । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगे । अव अर्को संसद् आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरू कुनै कारणले होइन, म चाहिँ अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग । गल्लीगल्ली पुग । सबै ठाउँ पुग । अव मसँग त्यो इच्छा छैन । अब म भन्दा युवा साथीहरू आउनुहोस् । मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भने पनि हुन्छ । राष्ट्रियसभा पनि छ । अरू राजनीतिक मोर्चाहरू पनि छन् । पार्टीको जिम्मेवारी लिएर कुनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अव मलाई अर्को चोटि उठ्ने रहर छैन । यो अन्तिम चोटि हो प्रत्यक्षमा ।’