प्रसव पीडाकी महिलाको हेलिकप्टरमार्फत उद्धार



नुवाकोट । लामो प्रसव पीडामा छटपटाई रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित प्रसूति अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले बताए ।


स्वास्थ्य संस्थाले असोज ११ गतेका लागि सुत्केरी हुने दिन तोकेको थियो । असोज १४ गते शुक्रबार प्रसव पीडा सुरु भएपछि वडा नं ३ स्थित राउतबेँसी स्वास्थ्य चौकी ल्याइएको थियो । स्वास्थ्य चौकीबाट सुत्केरी गराउन नसक्ने जानकारी शनिबार परिवारलाई जानकारी गराइएको थियो ।

परिवारको आग्रहअनुसार शनिबार स्वास्थ्य चौकीमा नै राखिएको राउतबेँसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठले बताए ।

आज एम्बुलेन्समार्फत थापाथली अस्पताल लैजान सम्भव नभएकाले तादी गाउँपालिकास्थित खरानीटाबाट उहाँको हेलिकप्टमार्फत उद्धार गरिएको हो । जिल्लाको १२ स्थानीय तहमध्ये दुप्चेश्वर गाउँपालिकामा मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भइरहेको छ ।

पूर्ण संस्थागत सुत्केरी दुप्चेश्वर निर्माणको अभियानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको महत्वपूर्ण योगदान रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । हालसम्म उक्त कार्यक्रममार्फत सातजनाले सेवा लिएका छन् ।