अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार घरमा पूर्ण रूपमा क्षति भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् । जबीहुल्लाह मुजाहिदले पूर्ववर्ती सरकारले पूर्वाधारको अव्यवस्थापन गरेका कारण क्षतिको परिमाण अस्वभाविक भएको बताए ।
मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, “यदि बाढी र क्षति बढ्दै गयो भने इस्लामिक इमिरेट्स अफ अफगानिस्तानसँग यी सबै कुराको सामना गर्न त्यति धेरै स्रोत छैन । धेरै प्रान्तमा भारी वर्षा भएको छ र देशको पूर्वी क्षेत्रमा बाढीको अत्यधिक असर परेको छ । विशेषगरी अफगानिस्थानका गरिब ग्रामीण क्षेत्रमा कमजोर संरचनामा निर्माण गरिएका घरहरू बाढीका कारण सजिलै ढल्न सक्छन् ।
मुसलधारे वर्षाका कारण हरेक वर्ष दर्जनौं अफगानीको मृत्यु हुने गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि नै देश आर्थिक र मानवीय संकटमा फसेको छ, विदेशमा रहेको अर्बौंको सम्पत्ति रोक्का हुनुका साथै सहायता कोष कटौतीका कारण यो झनै विकराल बनेको छ । तालिबानले अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी मुस्लिम मुलुकहरूलाई बाढी पीडितहरूको आवश्यकता पूरा गर्न सरकारलाई सहयोग गर्न आह्वान गरेको छ ।