काठमाडौं, असार २० गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा समिक्षा गर्दै केही थप निर्णय गर्ने भएको छ ।
उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सञ्चालन बारे पनि निर्णय गर्ने तयारी छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले आज बस्ने बैठकले सार्वजनिक यातायात जोरविजोर नियम हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय गर्ने बताएका छन् । साथै जारी निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी समेत भएको छ ।
अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर-बिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।अव थपिने निषेधाज्ञामा माइक्रो बस र टेम्पोलाई पनि सञ्चालन गर्न दिने विषयमा निर्णय आउन सक्ने उनले बताएका छन् ।लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न भने तत्काल नदिइने भएको छ ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण दर घट्दै गएको निष्कर्षसहित हाल निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ ।