लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।
अध्यक्ष दाहालले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने बताए ।
“माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढङ्गले बुझ्दै गएका छन् । सुशासनको अभियान, सामाजिक न्याय, देश, उत्पीडित वर्ग समुदायको हित, राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक छ । यसमा सबै लाग्नुहोला”, उनले भने ।
अध्यक्ष दाहालले राष्ट्रको हितलाई सर्वोपरी राखेर छिमेकी राष्ट्र भारत र चीन तथा अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।