रुकुमबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा आठ जना घाइते



रुकुम (पश्चिम) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ किटनीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

बा ३ ख ९६६५ नम्बरको यात्रु बस दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।


बिहीबार दिउँसो रुकुम पश्चिमको मुसिकोटबाट रुकुमकोट हुँदै काठमाडौँका लागि छुटेको बस किटनीमा दुर्घटना भएको हो।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ। प्रहरी निरीक्षक शर्माका अनुसार घाइते सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ। बस अनियन्त्रित भएर सडक किनारमा ठोक्किएको थियाे ।