दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरू



कर्णाली। आगामी मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक सय दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरू भएको छ।

प्रतियोगिताको आयोजक कर्णाली प्रदेशले आज दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बनाएको गीत सार्वजनिक गरेको छ। गीत सार्वजनिक गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगितामा स्वर्ण पदक जित्ने गरी तयारी गर्न परिषद् र खेलकुदसँग सम्बन्धित सबै संघलाई आग्रह गरे।


उनले भने, ‘राजनीतिले विभाजित देशलाई खेलकुदका माध्यमबाट जोड्दै छौँ। यसमा कर्णाली सक्षम छ भन्ने सन्देश दिने प्रयास हुँदैछ। तोकिएको मितिमै खेलकुद प्रतियोगिता सम्पन्न हुनेगरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक समन्वय गरी थप कार्य अगाडि बढाउँछौँ।’ मन्त्री भण्डारीले रंगशाला निर्माण कम्पनीलाई समयमै पूर्वाधार निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिए।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले रंगशालाको ९० प्रतिशत कार्यसम्पन्न भएको जानकारी दिए। ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एक सय दिनमा हामीले पूर्वाधार निर्माण सम्पन्न मात्र नभई बसोबास र यातायातको सबै तयारी गर्नुछ,’ उनले भने, ‘अब दिन होइन, घण्टाको हिसाबले युद्धस्तरमा काम गर्छौं।’

सदस्यसचिव सञ्ज्यालले कर्णालीमा २४ खेल प्रतियोगिता सञ्चालन गर्न सकिने सोहीअनुसार यहाँका दश जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार निर्माणका काम धमाधम भइरहेका बताए।

परिषद्ले प्रतियोगिताको लोगो (प्रतीक चिह्न) र मस्कट केही दिनमा सार्वजनिक हुने जनाएको छ। सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, संगीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ।