उपेन्द्रको आरोप : कांग्रेस–एमाले समानुपातिक प्रतिनिधित्व प्रणाली खारेज गर्ने षड्यन्त्र गर्दैछन् 



काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले मिलेर समानूपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको आरोप लगाए।


उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे।

यादवले संघीयता, समावेशीका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न भएको धारणा राखे।

उनले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुनेमा जोड दिए। उनले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप समेत लगाए।