काठमाडौं । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस २०८० का अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ ।
सोमबार पालुङ वितरण केन्द्रले विद्युतीय सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्डसहित पालुङ स्थित कार्यालयबाट थानाबजार दोबाटो लगायतका बजारहरुमा प्रभातफेरी कार्यक्रम गरेको हो । विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना फैलाउन तथा सुरक्षित विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोगसँगै किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि सचेतना जगाउन प्राधिकरणले हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।
विद्युतीय सुरक्षा दिवसका अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युतीय दुर्घटनाबाट बच्न गुणस्तरीय उपकरणको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।
विद्युत प्राधिकरणको काम तथा सेवा जोखिमपूर्ण रहेकोले त्यस अवस्थामा सुरक्षित भएर सेवामा लाग्न केन्द्र प्रमुख न्यौपानेले आम कर्मचारीहरुलाई निर्देशन पनि दिए । साथै सुरक्षा चुनौतिका रुपमा रहेका पुराना काठका पोलहरु विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा आफू लागेको पनि बताए ।