सरकारले आफ्नो नाममा ल्यायो बाँसबारीको १० रोपनी जग्गा



काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट चौधरी समूहले च्याम्पियन फुटवेयरमार्फत हडपेको १० रोपनी जग्गा आफ्नो नाममा फिर्ता ल्याएको छ ।

सबै प्रक्रिया पुरा गरी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।


मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै शुक्रबार यस्तो निर्णय गरिएको जानकारी गराएको छ। मालपोत ऐन २०३४ को दफा २४ को व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको कार्यालयका प्रमुख छविलाल नेपालीले जानकारी दिए ।

सरकारको सहमतिबिना उक्त जग्गा फुटवेयरको नाममा लगिएको थियो। सो विषयमा सांसद विनोद चौधरी, उनका भाइ वसन्त र अरुण चौधरीमाथि सीआइबीले अनुसन्धान गरिरहेको छ।