काठमाडौँ । संसद सञ्चालनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो । पुनः सोमबार बस्नेगरी बैठक सकिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।
सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिएको जानकारी दिँदै उनले भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ ।’
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छविमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमा सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए ।