२०६२–०६३ को आन्दोलनका ‘ज्युँदा शहीद’ मुकेश कायस्थको निधन



काठमाडाैँ । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।


बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेशलाई गोली लागेपछि उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेनन् । गोलीका कारण उनलाई पक्षघात भयो । जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे । बनेपामा भएको सो गोलीकाण्डमा आन्दोलनमा सहभागी अर्का युवा शिवहरि कुँवरले सहादत प्राप्त गरेका थिए ।