जनताले ‘माओवादी नै सही रहेछ, हामीले चिन्न ढिला गरेछौं’ भन्न थालिसकेः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पार्टीमा निकै ठूलो उभार आएको बताएका छन् ।

आज (मंगलबार) माओवादी केन्द्रले आजदेखि सुरू गरेको काठमाडौं उपत्यका केन्द्रीत नेवा र तामसालिङ जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गल्तीबाट सिक्दै अगाडि बढ्ने प्रयास गरिरहेको बताए । अहिले जनताले माओवादीलाई एक पटक क्षमा दिएको बताए । माओवादीमा अहिले आइरहेको उभार कायमै राख्न सकिए आगामी २०८४ को निर्वाचनमा ०६४ भन्दा माथि जाने अवस्था आउने बताए ।

‘हामी माओवादी भन्दा ठाउँ–ठाउँमा डराउने’ अवस्था भइसकेको परिस्थितिमा माओवादीले १८ महिना सरकारको नेतृत्व गर्दा अहिले गर्वका साथ माओवादी हौं भन्ने ठाउँमा आइपुगेको उनले बताए । ‘प्रतिक्रियवादी, यथास्थितिवादी आक्रमकजस्तो, हाम्रा साथीहरु रक्षात्मक हुने स्थिति थियो । तर, अहिले के भयो– हाम्रा साथीहरु छाती फुलाएर हामी माओवादी, हामीले ल्याएको यो परिवर्तन भन्न सक्ने ठाउँमा आउँदैछौं,’– उनले भने ।

माओवादीले अभियान लिएर गएको ठाउँहरुका जनताले ‘माओवादी नै सही हो, हामीले चिन्न ढिला गरेछौं’ भनेको पनि प्रचण्डले सुनाए । उनले जनताले ‘माओवादीलाई नै सहयोग गर्छौं’ भनेको पनि बताए । माओवादीले उत्पीडित वर्ग, क्षेत्र, समुदायसँग सम्बन्धलाई रिन्यू गर्न जरुरी रहेको प्रचण्डले बताए ।