सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन्। वडा नं १ सिरकोटको सिङ्गो गाउँ व्यावसायिक किबीखेतीमा लागेको हो।

मकैलगायत बाली लगाउँदा लागत बढी, उत्पादन र आम्दानी कम भएकाले किसान किबीखेतीमा लागेका हुन्। किबीको बजार राम्रो भएपछि व्यावसायिक खेतीमा लागेको किसान बताउँछन्।

सिरकोटका १८ परिवारका नागरिकले अहिले २५० रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेका छन्। त्यसमा छ हजार ४०० बिरुवा लगाइएको छ।

स्थानीय लक्ष्मीपति न्यौपानेले आफ्नो बारीमा २०७७ सालमा एक हजार ४०० बिरुवा लगाएका थिए। पहिलो उत्पादनका रुपमा गत वर्ष उहाँले रु दुई लाख ५० हजारको किबी बिक्री गरे। यस वर्ष रु सात लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए।

सोही गाउँमा गगन तरामुका ९०० तथा चन्द्रकला पाण्डेका ८०० किबीका बिरुवा छन्।

गत वर्ष सिरकोटबाट मात्रै रु १० लाखको किबी निर्यात भएको छ। स्थानीय बजारमा फुटकर प्रतिकिलो रु ३०० र थोकमा प्रतिकिलो २०० मा बिक्री हुन्छ। औसत प्रतिकिलो २५० मा स्थानीय बजारका साथसाथै बुटबल, भैरहवासम्म पनि किबी बिक्री हुने गरेको उन्नतशील कृषि तथा फलफूल कृषक समूहका अध्यक्षसमेत रहेका पदमपाणि पाण्डेले जानकारी दिए।

किबीका बिरुवा २०७७ सालमा दोलखाबाट प्रतिबिरुवा रु ३०० मा खरिद गरिएको थियो। पछि कालीगण्डकी गाउँपालिकाले पनि बिरुवामा अनुदान दिएको थियो।

सिरकोटमा यस वर्ष सबै किसानको गरी रु २० लाखको किबी बिक्री हुने अपेक्षा गरिएको छ। किबीले सामान्यतया लगाएको कम्तीमा चार वर्षदेखि अधिकतम ३५ वर्षसम्म फल दिने गर्दछ। त्यसले गर्दा किसानलाई बिरुवा लगाइरहने झन्झट हुँदैन।