काठमाडौं । पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । क्यान्सर रोगबाट पीडित चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो । चालिसे केही समययता भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत थिए । घरमै आराम गरिरहेका उनलाई अचानक छाती दुख्ने समस्या आएपछि शुक्रवार बिहानै अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पु¥याइएको थियो । सोही अस्पतालमा बिहान १ बजेर १५ मिनेट जाँदा उनको निधन भएको हो ।
गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्पादक भइसकेका चालिसेले साहित्यिक पत्रिका मधुपर्क र युवामञ्चको सम्पादकका रूपमा समेत काम गरेका थिए ।
लामो समयबाट नेपाली साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका चालिसेको बालकथा लेखनमा उल्लेखनीय योगदान रहेको छ । उनले पत्रकारिता, आख्यान तथा बालसाहित्य विधामा दर्जनौं पुस्तक लेखेका छन् ।
चालिसे वरिष्ठ साहित्यकार रमेश विकलका छोरा हुन् । उनी विकल जीवितै रहँदा रोचक घिमिरेको अध्यक्षतामा स्थापित रमेश विकल प्रतिष्ठानको महासचिव थिए । पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उनको पूरा नाम विजयकुमार चालिसे हो । बेलायतबाट पत्रकारितामा डिप्लोमा गरेका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गरेका थिए । गोरखापत्र दैनिक एक सय २५ वर्ष प्रवेशका अवसरमा गत वैशाख २४ गते आयोजित विशेष समारोहमा उनलाई ५० हजार राशिको ‘रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको थियो ।
वि.सं. २००८ असार २२ गते शुक्रवार काठमाडौँको जोरपार्टीमा जन्मिएका चालिसे लामो समयदेखि कथा, उपन्यास र नाटक लेखनमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आएका थिए । प्रेस स्वतन्त्रताका अग्रणी चालिसेको केही समयअघि ‘युगसन्धि’ नामक प्रकाशनमा आएको थियो ।