

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन् ।
मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब जनता तिरै फर्कने कसम आफूले खाएको पनि दाबी गरे ।


‘हामी माओवादीहरूलाई पहिलो चोटि जनताले अपार विश्वास गरेकै हो । काँग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो । हामीलाई तपाईँहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो,’ प्रचण्डले सम्बोधनको क्रममा भने ।
साथै, उनले सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको दाबी गरे ।
‘आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौँ । जनताको काखमा थियौँ । अहिले हामी काठमाडौँको जंगलमा भयौँ । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु,’ प्रचण्डले भने ।
उनले आफ्नै छोराछोरी सम्झेर माओवादीलाई माफी गरिदिन पनि आग्रह गरेका छन् ।
‘हामीले केही त्रुटि गर्यौँ । हामीले जुन वर्ग समुदायका लागि लडाइँ लडेका थियौँ, त्यो समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदै गयो । शंका पैदा हुने वातावरण पैदा हुँदै गयो । त्यसकारण पनि जनतामा एउटा निराशा र असन्तुष्टि बढ्दै गयो,’ प्रचण्डले भनेका छन्, ‘अब एकचोटी गल्ती सच्याउने, आफ्नै वर्गतिर फर्कने, फेरि शहिद, अपाङ्ग, दलित, आदिवासी जनजाति, मजदुर किसान, मुस्लिम, थारु, मधेशीको निम्ति फर्कने संकल्प गरेका छौँ ।’
