वानीरा फाउन्डेशनले तीन स्रष्टालाई सम्मान गर्ने



काठमाडौं । वानीरा फाउन्डेशनले नेपाली साहित्य सिर्जनामा साढे छ दशकदेखि निरन्तर साधनारत एवं नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ र चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही विश्वभर नै नेपालको गौरव बढाएको भन्दै शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिने निर्णय गरेको छ ।

सो फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा शनिवार बसेको फाउन्डेशनको बैठकले उक्त निर्णय गरेको सो संस्थाका सदस्य–सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।


यस्तै कविता लेखनमा सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवृद्धिमा उल्लेख्य योगदान दिएबापत कविवर कृष्ण बाउसेलाई ‘वानीरा पुरस्कार’ दिने पनि निर्णय गरेको छ ।

नेपाली साहित्यकी विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ भने बाउसेलाई दिइएको पुरस्कार राशि ५० हजार रुपियाँ रहेको छ । डा.वानीरा नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । उनका कवितासंग्रहका चारवटा, उपन्यास दुईवटा, आत्मकथा (एउटा) यात्रा संस्मरण (एउटा) र निबन्धका दुईवटालगायत अन्य कृति प्रकाशन भएका छन् । वानीराको निधन चार वर्षअघि ७५ वर्षको उमेरका भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here