सहकारी ठगी प्रकरणमा लेखा समिति सभापतिकी श्रीमती सहित २६ जनाविरूद्व मुद्दा दायर



काठमाडौं । सहकारी ठगी प्रकरणमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसहित २६ जनाविरूद्व मुद्दा दायर भएको छ । 

सरकारी वकिलको कार्यालयले मोरङले धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दामा सहकारी ऐन अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ । 


सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ । 

यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । 

सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । 

१८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here