काठमाडौं । सन् २०२४ को नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा पाँच दशमलव चार प्रतिशत धेरै हो ।
नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार नौ सय सय १५ जना पर्यटक आएका छन् । गतवर्षको नोभेम्बरमा भन्दा यो सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । यस्तै चीनबाट नौ हजार चार सय ५८ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । यस्तै बेलायतबाट ६ हजार ६ सय ११, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ जना पर्यटक आएका छन् ।
न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पाँच हजार तीन सय जना पर्यटक आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट एक हजार नौ सय ८४ जना पर्यटक आएका छन् ।
योसँगै सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटकीय सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेका छन् ।