शैक्षिक सर्टीफिकेटसँगै सिपको सर्टीफिकेट आवश्यक : उपप्रधानमन्त्री सिंह



नवलपरासी । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यक्ता सिपयुक्त शिक्षा भएको बताएका छन्। शनिबार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले अब विद्यालयले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टीफिकेट दिन सक्नुपर्ने बताए।

गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो।


देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेषगरि माध्यमिक तहको शिक्षामै बढी ध्यान दिन उनले आग्रह गरे।

‘शैक्षिक गुणस्तर सँगसँगै समयको मागबमोजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्यौं भने राम्रो हुन्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउन सक्यौं भने देशको दिशालाई सकारात्मक बाटोमा लैजान सक्छौं। यसमा सबैभन्दा बढी जोड दिनुपर्छ।’ उनले विद्यालयको अध्ययन सकेर विद्यार्थी बाहिर जाँदा आफ्नो जीवन आफैँ चलाउन सक्ने सक्षम नागरिक उत्पादन गर्न लाग्नुपर्नेमा जोड दिए।

त्यस्तै उपप्रधानमन्त्री सिंह शनिबार नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका छन्।

सो क्रममा उनले पार्टीलाई बलियो बनाउन पार्टी संगठन विधि र नियमअनुसार चलाउनुपर्ने बताए। पार्टीभित्र मतभेद भए पनि कांग्रेसको नीति, विचार, सिद्धान्तलाई जनतामा पुर्‍याउनका लागि कांग्रेसलाई केन्द्रमा राखेर सोच्न उनको आग्रह थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here