काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। मतदान आज विहान १० बजेदेखि ४ बजेसम्म हुने छ ।
यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्।
केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।
त्यस्तै महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ। समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।