काठामाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले केन्द्रले संघीयताको मर्म नबुझेका कारण निजामति कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी ऐनलगायतका ऐन हालसम्म बन्न नसकेको र यसमा आफू स्वयं पनि जिम्मेवार रहेको बताएका छन् ।
मधेश प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखे । यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उति नै जिम्मेवार रहेको उनले बताए ।
त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामति कर्मचारी ऐन, प्रहरी ऐन र शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाइ छ ।
सिडियोलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम–कानुन बनाएर दिन आवश्यक रहेको उनले औँल्याए । डा कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे ।