‘इलाम गोल्डकप’को उपाधि एनआरटीको पोल्टामा



इलाम । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले चुमेको छ । ‘प्रथम इलाम गोल्डकप’को विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधिपनि हात पारेको हो ।

शनिबार भएको फाइनलमा एनआरटीले ३–० गोलअन्तरले लिग विजेता चर्च ब्याइजलाई पराजित गरेको हो । एनआरटीले सेमिफाइनल खेलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च ब्याइजले आयोजक रेडहर्सलाई हराएको थियो । उपाधिसँगै एनआरटीले  १० लाख पुस्कार हात पारेको छ ।


उपविजेता चर्च ब्याइजले पाँच लाख प्राप्त गरेको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद ११ हजारले पुरस्कृत गरिएको तथा ‘म्यान अफ दी म्याच’लाई  सात हजार पाँच सयले पुरस्कृत गरिएको सचिव प्रकाश घिमिरेले जानकारी दिए ।

आयोजक संस्थाका सदस्य निरोज खड्गीका अनुसार प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख प्रदान गरेको थियो भने तारा रोजु सापकोटा च्यारिटेबल ट्रष्टले दोस्रो पुरस्कारका लागि रु पाँच लाख उपलब्ध गराएको थियो ।

प्रतियोगिता सम्पन्न गर्दासम्म अनुमानित ९० लाख खर्च भएको आयोजकले जनाएको छ । ‘गत वर्षभन्दा पुरस्कार नै दोब्बर बनाइनु, महँगी बढ्नु तथा खेलमैदान स्तरीकरण गर्न ठूलो खर्च हुनुले यस वर्षको कुल खर्च अत्यधिक वृद्धि भएको हो’,सचिव घिमिरेले भने ।

यही मङ्सिर २२ गतेदेखि सुरु भएको एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा बिजेता डिफेण्डिङ च्याम्पियन न्युरोड टोली (एनआरटी) र उपविजेता चर्च ब्वाइज युनाइटेडसहित सङ्कटा, त्रिभुवन आर्मी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गरेका थिए ।

गत वर्ष भएको पहिलो संस्करणको उपाधि न्युरोड टोली एनआरटीले नै जितेको थियो । विजेताले नगद पाँच लाख र उपविजेता विर्तामोड युनाइटेडले  तीन लाख पुरस्कार प्राप्त गरेको थियो ।

यहाँ आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा दर्शक बस्नका लागि स्थायी प्यारापिट नहुँदा प्रतियोगिता खर्चिलो हुने गरेको छ । दिगो प्यारापिटको अभावमा प्रत्येक वर्ष बाँसको अस्थायी प्यारापिट निर्माणमा नै ठूलो खर्च हुने गरेको आयोजक संस्थाकी कोषाध्यक्ष अस्ना श्रेष्ठले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here