काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर कांग्रेसलाई कहिले पनि खबर नपठाएको बताएका छन् । आज (शनिबार) प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रचण्डले आफूले कांग्रेसलाई कहिले पनि खबर नपठाएको र पठाउँदा पनि नपठाउने बताएका हुन् ।
माओवादीलाई अहिले सत्ता बाहिर रहँदा नै राम्रो भइरहेको उनले बताए । आफूले कांग्रेस–एमालेलाई ०८४ सम्मै सरकार चलाउनुस् भनिरहेको पनि प्रचण्डले बताए । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कीर्तिपुरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले कांग्रेसलाई हप्तामा एक पटक खबर पठाउने गरेको दाबी गरेका थिए ।
उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरू केही हुनै सक्दैन । मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा । अब तपाईँहरूले सोधिहाल्नुभयो । गगन थापालाई मैले एउटा युवा नेताको रूपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो । त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्न सक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ ।