थारु सङ्ग्रहालयमा आकर्षण बढ्दो



तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–३ मा निर्माण गरिएको  थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् ।

“दैनिक एक हजारको हाराहारीमा अवलोकन गर्नेहरु आउने गरेका छन्”, सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले भनिन् । उक्त सङ्ग्रहालयमा थारु संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाचगान, चार्डपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्न दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।


समाजका सबै थारु समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । उनका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभइ बाहिरबाट पनि आउनेको सङ्ख्या बढिरहेको छ । थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाँडा, दगौरा घरलगायत सामग्री सङ्ग्रहालयमा राखिएको छ । अहिलेसम्म सङ्ग्रहालयका लागि करिब रु छ करोड खर्च भइसकेको र थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ  । वि.सं२०७५देखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा स्थानीयवासीले रोजगारी पनि पाएका छन् ।

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै क्षेत्रका थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालयमा राना, डगौरा, देउखुरी, चितवन, कैलाली  कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याइएको हो ।

उक्त सङ्ग्राहलय पाँच बिघा जमिनमा फैलिएको छ । सङ्ग्राहलयमा सामान्य प्रवेश शुल्क रु ५० रहेकामा अपाङ्ग, विद्यार्थी र एकल महिलाका लागि भने रु ३० लिने गरिएको छ । सङ्ग्राहलयबाट दैनिक रु ४० हजार जति आम्दानी हुने गरेको उपाध्यक्ष चौधरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here