समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिँदैनौंः विप्लव



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्ल्वले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन् ।

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा शनिबार आयोजित सभामा उनले ८० को दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने बताए ।


विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गरे ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताए ।

केन्द्रीय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाए ।

तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो । सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकिसहितको र्यालीले नगर परिक्रमा गरेको थियो भने सभामा महासचिव चन्दले पार्टीको झण्डोलन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here