राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह



तनहुँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता भए मात्रै विकास निर्माणको कामले गति लिने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ सहर विकास आयोजनाको एकीकृत भवनको आज उद्घाटन गर्दै मन्त्री सिंहले देशलाई आर्थिक समृद्धिमा लैजान दुई ठूला दल मिलेर सरकार बनाएको बताएका हुन् ।


छिनछिनमा सरकार परिवर्तन हुँदा विकासको काम अलपत्र पर्न थालेको महसुस भएपछि देशको विकासका लागि पनि दुई दल मिल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

उहाँले भन्नुभयो, “वर्षमा दुई÷तीन वटा सरकार परिवर्तन हुँदा जनताको पक्षमा काम गर्न नसकिएको धेरै वर्षको अनुभवबाट महसुस भएको छ । राजनीतिक स्थायित्व दिँदै देशलाई समृद्धितर्फ लैजान नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएर सरकार बनेको हो ।”

वर्तमान सरकारको प्रमुख कार्यभार आर्थिक समृद्धि र जनताको पक्षमा काम गर्नुरहेको बताउँदै उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र संस्थागत गर्दै संविधानबाट प्राप्त अधिकारलाई प्रवर्द्धन गर्दै अगाडि बढ्नुपर्छ ।”

हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याउने सरकारको दायित्व रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार केन्द्रित रहेको मन्त्री सिंहको भनाइ छ । 

मन्त्री सिंहले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउँदै हरेक नगरपालिकाले विद्यालयमा रोजगारमूलक शिक्षाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री सिंहले भानु नगरपालिकाले सञ्चालन गर्न लागेको जग्गा वर्गीकरणको कार्यक्रमलाई मन्त्रालयले सहयोग गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here