लहानका सामुदायिक वनमा फलफूलका बिरुवा रोपियो



सिरहा । वनको संरक्षण र संवर्द्धन गर्दै आएका यहाँका सामुदायिक वन उपभोक्ता समूहले कृषि वन प्रवर्द्धन गरी आयआर्जनसँग जोड्न फलफूलका बिरुवा रोप्ने अभियान सुरु गरेका छन् । सामुदायिक वन दिवसका अवसर पारी लहान नगरपालिका–१५ स्थित बाबाजी खोला सामुदायिक वन र मुतनीखोला सामुदायिक वनले कृषि वन कार्यक्रमको सुरुआत गरेका हुन् ।

केयर नेपाल, सामुदायिक वन महासङ्घ र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र लहान नगरपालिकाको समन्वयमा आप, कटहर, लिच्चीलगायत फलफूलका बिरुवा रोप्न सुरु गरेको बाबाजीखोला सामुदायिक वनका अध्यक्ष जागेश्वर चौधरीले बताए ।


“वनबाट काठ दाउरा मात्र नभई फलफूलबाट पनि समूहलाई छिट्टै आम्दानी हुने र उपभोक्ता समूहलाई सक्रिय बनाउने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो”, अध्यक्ष चौधरीले भने, “यसले गर्दा वन्यजन्तु पनि बस्ती छिरेर किसानको खेतबारीमा अन्नपात खाइदिने समस्याबाट पनि जोगिने हामीले विश्वास गरेका छौँ ।”

साथै उनले ६३ हेक्टर क्षेत्रफलमा फैलिएको बाबाजीखोला सामुदायिक वनभित्रको करिब चार हेक्टर खुला जमिनमा तीन सय १० फलफूलका बिरुवा र अन्य घाँसे जातका त्यत्ति नै मात्रामा बिरुवा रोप्न सुरु गरिएको बताए ।

त्यस्तै जीविकोपार्जनका लागि सामुदायिक वनभित्र खाली रहेको जग्गामा फलफूल विस्तार गर्दा उपभोक्ताको आयस्तर वृद्धि तथा दिगो वन संरक्षण अवधारणाले पनि सार्थकता पाउने मुतनीखोला सामुदायिक वनका अध्यक्ष देवराज चौलागाईँले बताए ।

उनले भने, “रातदिन संरक्षण गरेर हुर्काएको बिरुवाबाट उपभोक्ता घाँसदाउरा सीमित हुने स्थिति थियो । अब फलफूलखेतीलाई सामुदायिक वनमा विस्तार गरेर उपभोक्तालाई आयआर्जनतर्फ उन्मुख गराउनका लागि फलफूलका बिरुवा रोपिएको हो ।”

विभिन्न सङ्घसस्थाको योजनामा सामुदायिक वनका उपभोक्तालाई आयआर्जनसँग जाड्ने अवधारणालाई स्थानीय तहले सकारात्मक रूपमा लिएको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए ।

चुरेको फेदमा अवस्थित खाली क्षेत्रमा कृषि वनको अवधारणाले यहाँको पर्यावरण र जैविक विविधतामा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै उनले रोपिएको बिरुवा संरक्षण हुनुपर्नेमा जोड दिए । साथै आगामी दिनमा अन्य सामुदायिक वनमा पनि कृषि वनको अवधारणा लागू गर्न उनले आग्रह गरे ।