काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखा उपचारका क्षेत्रमा पुर्याएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ।
सभामुख देवराज घिमिरेले शनिबार यहाँ आयोजित समारोहमा उनलाई अभिनन्दन गरेका हुन्।
ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उनी सफल भएका छन्।
न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा.रुइत चिनिएको अभिनन्नद पत्रमा उल्लेख छ।
डा.रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन्।