डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु



डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ । एक जनालाई उपचारका लागि धनगढी पठाइएको छ । सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका–५ बागवजार नजिक पीपल चौतारा नजिकै नालीमा खसेर आज दुर्घटना भएको थियो ।

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी र्दिएको छ । उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


दुर्घटनामा ६ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया ईश्वरीदेवी विष्ट, आठ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन् ।

घाइतेमध्ये ईश्वरीलाई थप उपचारका लागि धनगढी पठाइएको र बाँकी सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । जीपमा चालकसहित आठ जना सवार थिए । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।