नारायणगढ–बुटवल सडकको दाउन्नेमा एकतर्फी यातायात सञ्चालन



नवलपरासी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायण बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएका छ । सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मतको काम बुधबार पनि नसकिएपछि अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । 

सडक पूर्ण रूपमा सञ्चालनका लागि पहाड फोड्नुपर्ने र खोलाको किनारबाट जग उठाउनुपर्ने भएकाले सडक भासिएको दोस्रो दिन पनि मर्मतको काम नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। मंगलबार दिनभर सडक मर्मतको काम गरिएकामा गएरातिको वर्षाले लेदोसहितको माटो सडकमा खसाल्दा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।


बुधबार साँझसम्म काम गर्दा पनि नसकिएपछि भोलि बिहान ८ बजेदेखि पुन सडक मर्मतको काम सुरु गर्नेगरी आजलाई काम रोकिएको छ”, उनले भने , “आज राति पनि गाडीहरू एकतर्फी मात्र सञ्चालन हुने छन् ।” बिहीबार बिहान पानी नपरेमा बिहान ८ बजेदेखि मर्मतको काम सुरु गरेर दुई घण्टामा दुईतर्फी नै सडक सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ । सोमबार साँझ दाउन्ने बजारमा सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहानदेखि पूर्णरूपमा यातायात अवरुद्ध भएको थियो ।