इरानले शनिबार युरोपेली युनियन (ईयू)ले रुस र यसको मध्यपूर्वका सहयोगीलाई ड्रोन आपूर्ति गरेकोमा उच्च पदस्थ अधिकारी र रिभोलुसनरी गार्डमाथि लगाएको नयाँ प्रतिबन्धको आलोचना गरेको छ । ईयूले इरानका रक्षामन्त्री मोहम्मद रेजा अश्तियानी र विदेशी अपरेसन शाखा कुद्स फोर्सका कमान्डर इस्माइल कानीलाई लक्षित गरी शुक्रबार यो नियम सार्वजनिक गरेको हो ।
सशस्त्र बल कमान्ड सेन्टर, राज्य उड्डयन फर्मका प्रमुख र काभान इलेक्ट्रोनिक्स बेहराद कम्पनीलाई पनि लक्षित गरी यो प्रतिबन्ध लगाइएको हो । इरानको विदेश मन्त्रालयले बारम्बार, बेतुका र आधारहीन बहाना र आरोपमा आधारित यस कदमलाई “खेदजनक” बताएकाे छ । “युरोपेली सङ्घले एक पटक फेरि शक्तिशाली इरानविरुद्ध प्रतिबन्धको अप्रचलित र अप्रभावी औजारको सहारा लियो”, मन्त्रालयका प्रवक्ता नासिर कानानीले एक विज्ञप्तिमा भने ।
प्रतिबन्धले ईयू नागरिक वा कम्पनीलाई सूचीबद्ध व्यक्ति र संस्थाहरूसँग व्यापारमा संलग्न हुन निषेध गरेको छ । संयुक्त राज्य अमेरिका र इजरायललगायत यसका सहयोगीले इरानलाई मध्यपूर्वमा आफ्ना सहयोगीलाई, विशेष गरी लेबनानी शिया समूह हेजबुल्लाह र यमनमा हुथी विद्रोहीलाई ड्रोन उपलब्ध गराएको आरोप लगाएका छन् ।
कियभ र यसका पश्चिमी सहयोगीले पनि इरानले युक्रेन युद्धमा प्रयोगका लागि रसियालाई ड्रोन उपलब्ध गराएको आरोप लगाएका छन् तर इरानले उक्त आरोप अस्वीकार गरेको छ ।