महोत्तरी । अत्यधिक गर्मी बढिरहेका बेला महोत्तरीको बर्दिबास-११ चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै गएको छ।
पूर्वपश्चिम राजमार्गबाट १५ किलोमिटर छिचोलेर पुगिने चनौटेडाँडामा लेकाली हावापानी पाइन्छ। स्थानीय ‘मधेसको चुली’ अर्थात् उच्च शिखर भनेर यहाँको परिचय दिने गर्दछन्।
बर्दिबासचोकबाट करिब ३० किमीभित्र पर्ने यो ठाउँमा लेकाली हावापानी पाइने भएकाले तराईबाट गर्मी छल्न अधिकांश आन्तरिक पर्यटक यहाँ आउने गरेका स्थानीय बताउँछन्।
चनौटेको उत्तरतर्फका पाखामा जुनार र सुन्तलाका बोट छन्। जेठको हपहप हुने गर्मीमा पनि यहाँ पुगेपछि हिमाल चढेजतिकै चिसो र आनन्द महसुस हुने पर्यटक बताउँछन्।
उच्च महाभारतको लेकमा हुर्कने र उत्पादन दिने सुन्तला, जुनार र चुच्चे करेलाको स्वादसँगै उच्च लेकक्षेत्र पुगेको अनुभूति हुने बर्दिबास नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए। चनौटेडाँडा पुग्दा जोसुकैले उच्च लेकक्षेत्र पुगेको अनुभूति लिनसक्ने उनको भनाइ छ।
‘यहाँ लेकाली हावापानी छ। सुन्तला, जुनारका बोट लेकाली क्षेत्रमा जस्तै छन्। उच्च लेकमा हुने चुच्चे करेलाका लहरा लहलहाएका देखिन्छन्। यसबारे अनुसन्धान गरी तयार पारिएका अभिलेखबाट चनौटे समुन्द्री सतहदेखि सात सय मिटर उचाइमा अवस्थित छ’, प्रमुख प्रशासकीय अधिकृत जोशीले भने।
अहिले तराईको उखरमाउलो गर्मीकाबीच पनि चनौटेका स्थानीय राति सिरक ओढ्ने गर्दछन्। बर्दिबास-१० को खयरमारा बस्तीबाट करिब पाँच किमी उक्लेपछि चनौटे पुगिन्छ।
‘बर्दिबासबाट पाँच किमीको दुरीमै हावापानीमा कस्तो अन्तर! तल खयरमारामा हपहप पोलने गर्मी, यहाँ पूरै लेकको चिसो, चनौटेको पदयात्रा गर्नुभएकी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले भन्नुभयो । मधेसमा यस्तो लेक होला भन्ने कल्पना नै नगरेको उनको भनाइ छ।
सामान्यतः मधेसमा ‘गर्मी कति छ?’ भनेर पहाडतिरका बासिन्दाले सोध्ने जिज्ञासामा मधेसको चनौटेसँग उक्त प्रश्न मेल नखाने बरालले बताए ।
‘म दोलखामै जन्मे, हुर्केको हुँ। अहिले चनौटे आइपुग्दा दोलखाकै कुनै शिखरमा पुगेजस्तो लागिरहेको छ’, बर्दिबासमा होटल तथा पर्यटन व्यवसाय गर्दै आएका नारायण घिमिरेले भने, ‘मधेसमा यस्तो लेकाली हावापानी अन्तःदुर्लभ नै होला।’
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका महासचिवसमेत रहनुभएका घिमिरेले यस ठाउँलाई स्थानीय र प्रदेश सरकारले संरक्षण र प्रवर्द्धन गरी आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्नुपर्ने बताए।
‘बर्दिबासचोकबाट ३० किमीभित्रै यस्तो लेक रहेछ, यहाँका तीनै तहका सरकारको आँखा नपरेर ओझलिएको छ। यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनमा जोड दिनु आवश्यक छ’, उनले भने।
चनौटे डाँडाबाट सेताम्य हिमाल, सिन्धुलीगढी र दक्षिणतर्फ भारतको सीतामढी सहर छ्याङ्ग देखिन्छ। हिमाली हावा सिधैँ यहाँ ठोक्किने हुँदा डाँडाको उत्तरीपाखामा जुनार, सुन्तलालगायत फलफूल हुर्किने वातावरण रहेको स्थानीय काजी कार्कीले बताए। महाभारत शृङ्खलाका लेकमा पनि हिमालको हावा सिधैँ यहाँ आउने उनको भनाइ छ।
चनौटे र आसपासका बासिन्दा यसलाई ‘मधेसको छानो’ भन्न मन पराउँछन्। ‘उचाइको डाँडा भन्ने प्रमाण नभए पनि यहाँको लेकाली हावापानी र अवस्थितिले यो मधेसको सबैभन्दा उचो ठाउँ भएको मान्दै आएका छौँ’, सामाजिक अभियान्ता विष्णु भण्डारीले भने, ‘यो मधेसको चुली हो।’
यहाँ बैशाखदेखि भदौसम्म तराईको गर्मी छल्न उपयुक्त थलो हुने बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताए। भूगोल, संस्कृति र रीतिस्थितिले विविधायुक्त बर्दिबास नगरक्षेत्रका कैयौँ ठाउँ पर्यटकीय सम्भावनाले युक्त रहेका छन्। तीमध्ये चनौटे पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ।
‘पछिल्लो दुई महिनायता होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जालसँगै बर्दिबासका पर्यटकीय सम्भावनाबारे अध्ययनका लागि पदमार्ग अभियान थालेका छौँ’, खड्काले भने, ‘यस क्रममा चुरे शृङ्खलाका कैयौँ ठाउँको अवलोकन गरिएको छ, चनौटे यी सबैमा उम्दा छ।’
मधेस र बागमती प्रदेशको सीमा रहेको चुरे पहाडको महोत्तरीभित्रका सबै भाग बर्दिबास नगरपालिकामा पर्छन्। तराईको समतल मैदानदेखि पूरै लेकाली हावापानीको चनौटेसम्म फरक वस्तुस्थिति, हावापानी बर्दिबासको विविधतायुक्त विशेषता भएको नगरपालिकाको पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमले बताए।
होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्षसमेत रहनुभएका गौतमले नगरका पर्यटकीय सम्भावनाबारे विस्तृत अध्ययन गरेर विकासका लागि योजनाबद्ध काम गर्न अहिले गृहकार्य भइरहेको जानकारी दिए।
‘नगर क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको विस्तृत अध्ययन गरी पर्यटन प्रवर्द्धनका लागि योजना बनाइरहेका छौँ’, उनले भने, ‘अध्ययनबाट आएका तथ्यगत प्रतिवेदन निर्माण भइरहेका छन्। प्रदेशका आठवटै जिल्लाका ४० ठाउँलाई पर्यटकीय विकासका लागि पहिलो सूचीमा राखेर गर्न सकिने कामका सम्भावनाबारे गृहकार्य थालिएको छ।’
चनौटेमा पछिल्ला केही महिनायता भ्रमण गर्ने आन्तरिक र भारतीय पर्यटकको सङ्ख्या बढिरहेको गौतमले जानकारी दिए।
तराईमा बढेको गर्मी छल्न पहाड उक्लने बढे पनि चनाटैमा बास, खानपिनसहितका सुविधा व्यवस्थित नहुँदा पर्यटकलाई समस्या हुँदै आएको बर्दिबास-११ का वडाध्यक्ष पूर्ण बलले बताए।
‘जिल्लाको तल्लोभेग र ४५ किमी दुरीको दशगजा (नेपाल भारत सीमाक्षेत्र) पारीबाट यहाँ पर्यटक आउने गरेका छन्। यहाँको भौगोलिक र हावापानीले सबैलाई आकर्षित गर्दछ । यहाँ आइपुग्ने पर्यटकलाई भोजन र रात्रिबासको सुविधा दिन सकिएको छैन’, बलले भने, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी होटल तथा पर्यटन व्यवसायी महासंघ, उद्योग वाणिज्य संघ र अन्य सामाजिक संघसंस्थाले यसको प्रवर्द्धनमा पहल गर्नुपर्ने हुन्छ।’
पछिल्ला केही दिनयता चुरे पर्वत श्रेणीका पर्यटकीय सम्भावनाबारे भएका चासोले ती ठाउँको विकासका लागि योजनाबद्ध कामको थालनी गरिएको नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताए। यस क्षेत्रमा काम गर्नेगरी पर्यटन प्रवर्द्धन समिति बनाएर योजना अघि बढाइएको उनको भनाइ छ।
‘समितिले अध्ययन गरेका क्षेत्रबारे आफूले गर्नसक्ने र प्रदेश तथा केन्द्र सरकारको सहयोग खोज्नेछौँ। प्रतिवेदनले पेस गरेका तथ्यका आधारमा पर्यटन प्रवर्द्धनका लागि नीति तथा योजना र बजेट समेत विनियोजन गर्दै जानेछौँ’, नगरप्रमुख क्षेत्रीले भने।
यसअघि एकदशक पहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चनौटे डाँडामा सहिद पार्क निर्माणको शिलान्यास गरेका थिए। उक्त कार्यले पूर्णता पाउन नसकेको नगरप्रमुख क्षेत्रीले बताए। सहज सडक सञ्जालका लागि निर्माण सामग्री पुर्याउन नसक्दा कामले गति लिन नसकेको उनको भनाइ छ।
सहिद पार्कको शिलान्यास गर्ने व्यक्ति अहिले प्रधानमन्त्री भएका यसको प्रवर्द्धनका लागि पहल गर्नुपर्ने बर्दिबास-११ गोेपाल श्रेष्ठले बबताए। ‘केन्दै अध्यक्ष एवं प्रधानमन्त्री दाहालले शिलान्यास गर्नुभएको योजना अलपत्र छन्। उहाँलाई यसबारे जानकारी गराएमा चासो दिएर विकासका लागि सहयोग गर्नुहुनेमा हामी विश्वस्त छौँ’, उनले भने, ‘नगरका प्रतिनिधिले प्रधानमन्त्रीसमक्ष जानकारी पुर्याउनु पर्दछ।’
तीनै तहका सरकारले चासो दिए यहाँ पटकको आगमन बढ्नुका साथै आर्थिकस्तरमा सुधार हुने आशा चनौटेवासीले गरेका छन्। लेकाली हावापानी र वातावरणले सिंगो मधेसको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चनौटेलाई विकास गर्नुपर्ने खयरमाराका सामाजिक अगुवा प्रेमध्वज लामाले बताए।