इन्डोनेसियाले खोजी कार्य स्थगित गरेपछि समुद्रमा दुई रोहिङ्ग्या शरणार्थीको शव फेला



करिब एक सय ५० व्यक्ति बोकेको काठको डुङ्गा पल्टिएको केही दिनपछि शनिबार फेला परेका दुई रोहिङ्ग्या शरणार्थीको शव निकालिएको छ । शवहरू अझै समुद्रमा रहेको स्थानीय उद्धारकर्ताहरूले बताएका छन् । घटनाका जीवितहरूले आफ्नो र आफूहरूलाई उद्धार गर्न आएको डुङ्गा पल्टिँदा बुधबार दर्जनौँ मानिस डुबेको खबर दिए पनि इन्डोनेसियाका उद्धारकर्ताहरूले शुक्रबार बाँकी रोहिङ्ग्या शरणार्थीको खोजी कार्य स्थगित गरेका थिए ।

म्यान्मामा उत्पीडनमा परेका धेरैजसो मुस्लिम समुदायका रोहिङ्ग्याहरू प्रत्येक वर्ष आफ्नो ज्यान जोखिममा राखेर कमजोर डुङ्गामा लामो र महँगो सामुिद्रक यात्रा गरेर मलेसिया वा इन्डिनेसिया पुग्ने प्रयास गर्छन् । माझीहरूले शनिबार समुद्रमा आधा दर्जनभन्दा बढी शव देखेका थिए तर तीमध्ये दुई जनाको मात्र शव निकालिएको अधिकारीहरूले बताएका छन् । “हामीले दुईजनाको मात्र शव निकाल्यौँ । दुवै महिला थिए । उनीहरू रोहिङ्ग्या भएको पुष्टि भएको छ । माझीहरूका अनुसार डुबेर ज्यान गुमाउनेहरू अझै धेरै छन्”, आचे जया खोज तथा उद्धार कार्यका प्रमुख मिर्जा सफ्रिनादीले पत्रकारहरूलाई भने ।


“दुई शव बाहिर निकालिसकियो, बाँकी अझै प्रक्रियामा छन्”, संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) का संरक्षण सहयोगी फैसल रहमानले भने । डुङ्गा पल्टिनुअघि हप्तादिनसम्म समुद्रमा अलपत्र परेकाहरूको अधिकारीहरूले बिहीबार नाटकीय उद्धार गरेका थिए । तीमध्ये धेरैजसो पल्टिएको डुङ्गामा टाँसिएको भेटिएका थिए । अन्य छ जनाको बुधबार माझीहरूले उद्धार गरेका हुन् ।

युएनएचसिआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार सात सय ५२ रोहिङ्ग्या शरणार्थी इन्डोनेसियाको आचे र उत्तरी सुमात्रा प्रान्तमा प्रवेश गरेका थिए । तीमध्ये धेरै महिला र बालबालिका थिए । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ यता मुस्लिम बाहुल्य देशमा बङ्गलादेशको बिगँ्रदो स्थिति र रोहिङ्ग्याको जन्मभूमि म्यान्मामा हिंसाको निरन्तर खतराका कारण यो सबैभन्दा ठूलो आगमन भएको बताएको छ ।